काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी-२० लिगमा जनकपुर रोयल्सले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा पोखरा एभेन्जर्सलाई ५ विकेटले हराउँदै जनकपुरले विजयी सुरुवात गरेको हो । आफ्नो पहिलो खेलमा पोखराले दिएको १ सय ३९ रनको लक्ष्य जनकपुरले १७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍याे ।

उसका लागि सन्दीप जोराले उत्कृष्ट पारी खेले । ३० बलको सामना गरेका उनले तीन छक्का र दुई चौकासहित अविजित ४० रन बनाए । त्यस्तै, सागर पुनले ३५ बलमा पाँच चौका र एक छक्काको सहयोगमा ३८ रन जोडे । विकेटकिपर चाडविक वाल्टनले १९ रनको योगदान दिए । पोखराका लागि जाहिर खानले तीन, कप्तान शरद भेषवाकर र मौसम ढकालले एक/एक विकेट लिए ।



त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन बनायो । उसका लागि आसिफ शेखले अर्धशतकीय पारी खेले । ३९ बलको सामना गरेका उनले चार चौका र दुई छक्कासहित ५० रन बनाए । त्यस्तै, सिद्धान्त लोहनीले २९, प्रतिश जिसीले २८ र अमीर हम्जाले १८ रन जोडे ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । आजको जितसँगै जनकपुरले दुई अंक जोडेको छ । पुछारमा रहेको पोखराले भने लगातार दोस्रो हार बेहोरेको छ । ऊ पहिलो खेलमा काठमाडौं नाइट राइडर्सविरुद्ध २६ रनले पराजित भएको थियो । आइतबार नै भएको पहिलो खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किंग्सलाई ३ रनले हरायो ।

विराटनगरले भने लिगमा हारबाट सुरुवात गर्‍यो । आफ्नो पहिलो खेलमा लुम्बिनीले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो । उसका लागि हुसेन तलतले ३९, रोहित पौडेलले २५, पृथु बाँस्कोटाले १८, सिकन्दर राजाले १७, विवेक यादवले १३, कप्तान आन्द्रे म्याककार्थीले अविजित १० र अर्जुन साउँदले १० रन बनाए ।

लुम्बिनीका लागि किशोर महतोले दुई, गुल्शन झा, कप्तान दीपेन्द्र सिंह ऐरी, प्याट ब्राउन र सागर ढकालले एक/एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि ओपनर तथा विकेटकिपर लाहिरु मिलन्थाले उत्कृष्ट पारी खेले । लगातार दोस्रो अर्धशतकीय इनिङ खेल्ने क्रममा उनले आज ६३ बलमा पाँच चौका र चार छक्कासहित अविजित ८० रन बनाए ।

पहिलो खेलमा मिलन्थाले ६० रनको पारी खेलेका थिए । त्यस्तै, कुशल भुर्तेलले २६ र कप्तान दीपेन्द्र सिंह ऐरीले १६ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । विराटनगरका लागि नन्दन यादव, हुसेन तलत, सिकन्दर राजा, साहब आलम र आन्द्रे आन्द्रे म्याककार्थीले एक/एक विकेट लिए । लगातार दोस्रो जितका साथ लुम्बिनीले चार अंक जोडेको छ । उसले पहिलो खेलमा फार वेस्ट युनाइटेडलाई ६७ रनले हराएको थियो ।